चकित बनाउने कमाइ गर्दैछ ‘हनुमान अंश’

फिल्म । गएको अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा अप्रत्याशित प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो साता निकै सुस्त देखिएको यो फिल्म दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसको दौडबाट बाहिरिने अनुमान गरिएको थियो । तर, तेस्रो र चौथो सातामा फिल्मको कमाइमा आएको उछालले सबैलाई आश्चर्यमा पारेको छ ।

फिल्मले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा करिब १० लाख भारु मात्र कमाएको थियो। पहिलो सातामा फिल्मको कमाइ करिब १ करोड ८ लाख भारुमा सीमित भयो। दोस्रो सातामा भने कमाइ घटेर करिब ४० लाख भारुमा खुम्चिएको थियो ।

तर, तेस्रो सातादेखि फिल्मको व्यापारमा उल्लेख्य सुधार आयो। तेस्रो सातामा मात्रै फिल्मले करिब १० करोड ४० लाख भारु कमाएको बताइएको छ। चौथो साताको आइतबार फिल्मले १२ करोड ७५ लाख भारु कमाएको थियो। त्यसको भोलिपल्ट सोमबार पनि फिल्मले ५ करोड ५० लाख भारु कमाएको जनाइएको छ।

उपलब्ध विवरणअनुसार सोमबारसम्म फिल्मको भारतमा कुल नेट कलेक्सन ४५ करोड ९२ लाख भारु पुगेको छ । भारतमा फिल्मको कुल ग्रस कलेक्सन भने ५३ करोड ४३ लाख भारु पुगेको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार ‘हनुमान अंश’ करिब २ करोड रुपैयाँको बजेटमा निर्माण भएको हो । तुलनात्मक रूपमा निकै कम बजेटमा बनेको फिल्मले आफ्नो निर्माण लागतभन्दा कैयौँ गुणा बढी कमाइसकेको छ। यही कारण फिल्मलाई ब्लकबस्टरका रूपमा हेरिएको छ। परम्परागत प्रचारमा धेरै खर्च गर्नुको सट्टा निर्माताले विभिन्न स्थानमा भण्डारा आयोजना गर्दै बाबा नीम करौलीसँग सम्बन्धित सन्देश मानिसहरूमाझ पुर्‍याउने प्रयास गरेका थिए। त्यसबाट फिल्मबारे विस्तारै चर्चा बढ्दै गएको बताइएको छ।

सकारात्मक ‘माउथ पब्लिसिटी’ले फिल्मको व्यापारमा ठूलो भूमिका खेलेको देखिन्छ। सुरुवाती दिनमा सुस्त रहेको फिल्मप्रति दर्शकको चासो विस्तारै बढ्दै गएपछि यसको कमाइमा पनि अप्रत्याशित सुधार आएको हो।

विशाल चतुर्वेदीको निर्देशनमा बनेको ‘हनुमान अंश’ बाबा नीम करौलीको जीवनबाट प्रेरित फिल्म हो। फिल्ममा बाबाको भूमिकामा शोभिनाव सत्य देखिएका छन्। फिल्ममा विहान शेज, चन्दन के. आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, गुलशन पाण्डे, भगवानदास पटेल र राजीव मिश्रा लगायत कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्