‘कल्ली’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुने

फिल्म । आगामी फागुन १ बाट रिलिज हुने फिल्म ‘कल्ली’ नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन् । निर्माता किरण नेपालीका अनुसार यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ । नेपालमा नेपाली भाषामा र भारत तथा पाकिस्तानमा हिन्दी भाषामा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

भारतमा एम.के. फिल्म डिस्ट्रिब्यूटर र पाकिस्तानमा हिप्पो फिल्मस्ले यसलाई रिलिज गर्ने निर्माण पक्षको दावी छ । नेपालमा भने हिन्दी संस्करण रिलिज हुने छैन । लक्ष्मण सुनारको लेखन र निर्देशनमा बनेको ‘कल्ली’को फस्टलुक सार्वजनिक भएसँगै बजारमा चर्चा चुलिएको छ । हाल फिल्मको पोष्ट प्रोडक्सनको काम धमाधम भइरहेको छ ।

लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा महेश दवाडीको लेखन छ । फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारतीलगायतका कलाकारको अभिनय छ । लोभको कथालाई केन्द्रमा राखेर बनेको यो फिल्मले लोभले मानिसको जीवनमा ल्याउने परिवर्तनको कथा प्रस्तुत गर्छ । फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।

कमेन्ट गर्नुहोस्