असोज २४ मा ‘छ माया छपक्कै’ ?

फिल्म । दसैँमा रिलिज गर्ने तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै’ टिकापछि रिलिज हुने सम्भावना बढेको छ । दुइ विदेशी फिल्मको रिलिज उक्त समयमा हुन् भएपछी हलमा समस्या आउने छनक देखाउदै टिमले टिकापछी रिलिज गर्ने तयारीमा रहेको बुझिएको छ । अर्थात फिल्म असोज २४ मा रिलिज हुने सम्भावना बढेको छ ।

कतिपयले निर्माता दिपकराज गिरी र उनको टिम हिन्दी फिल्मसँग डराएको तर्क पनि गर्छन् । तर, दिपक भन्छन्–‘हामी हिन्दी फिल्मसँग जुध्नका लागि तयार छौं । तर, नेपालका हलावाल र वितरकसँग हामी जुध्न सक्दैनौं ।’ ठूलो विदेशी फिल्म आउँदा नेपाली चलचित्रलाई पराइको व्यवहार गर्ने र निकै कम शोजमा खुम्च्याइदिने खेल नेपालका वितरक र हलवालाले खेल्दै आएको लामो समय भैसकेको छ ।

यसैले, पनि दिपकले कम शोज पाउने संभावनाका कारण नै ‘वार’सँग नजुध्ने संकेत गरेका छन् । पछिल्लो समय विदेशी फिल्ममा पनि विशेषगरि ठुला हिन्दी फिल्म आउँदा नेपाली मारमा पर्ने गरेका छन् । विदेशी फिल्ममा हल संचालकको पनि अप्रत्यक्ष रुपमा लगानी पर्ने भएकाले स्वदेशी फिल्म मारमा पर्ने गर्छन । स्वदेशी फिल्मलाई शो त कम दिन्छन् नै , टाइम पनि उस्तै हुन्छ । तर , यो समस्यामा सबै मौन छन् ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल , केकी अधिकारी लगायतको अभिनय रहेको छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

कमेन्ट गर्नुहोस्