फिल्म । शुक्रबारदेखि काठमान्डौ स्थित जमलको नाचघरमा नवौँ नेपाल अफ्रीका फिल्म फेस्टिभल सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उद्घाटन गरेका फेस्टिभल कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा सुरु भएको हो । उद्घाटनपछी मन्तव्य राख्दै मन्त्री ज्ञवालीले यस्ता महोत्सवले नेपाल अफ्रिकाको सम्बन्ध सँधै राम्रो हुने बताए । साथै , उनले सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर फेस्टिभल सम्पन्न गर्न आग्रह समेत गरे ।
नेपाली फिल्म निर्माताहरुको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दूतावास मार्फत अन्तराष्ट्रिय नेपाली फिल्म महोत्सवको आयोजना गर्ने योजना बनाईरहेको पनि मन्त्री ज्ञावलीले जनाए । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाईलाई समर्थन गर्दै कोरोना भाइरसको दोस्रो लहर सुरु भइसकेकाले सावधानी बढाउन सुझाए । उनले यस्ता महोत्सवले संस्कृतिलाई आदानप्रदान गर्नुका साथै नेपाली फिल्मको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले अफ्रिका र नेपाललाई सांस्कृतिक रुपमा जोड्न नै नियमित रुपमा यो महोत्सब गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष डा. मञ्जु मिश्रले बताईन् । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले आफु सुरुका दिन देखिनै नेपाल अफ्रिका फिल्म महोत्सबसँग नजिक रहेको र महोत्सबमा सांस्कृतिक संस्थानले पनि सहकार्य गर्दै आएको बताए ।
महोत्सवमा आईतबार ११ बजेबाट २ बजेसम्म नेपाली र अफ्रिकन फिल्मबारे कार्यशाला आयोजना गरिने महोत्सवका निर्देशक डब्बु क्षत्रीले बताए । सुरुका दिनमा अफ्रिकन फिल्म जुटाउन निकै गाह्रो भए पनि अहिले महोत्सवमा निकै राम्रा नेपाली र अफ्रिकन फिल्म सहभागी हुने गरेको पनि क्षत्रीले बताए । यसपटक ८ वटा नेपाली लामा छोटा फिल्म र ९ वटा अफ्रिकन फिल्म रहेको पनि क्षेत्रीले जानकारी गराए ।
शुक्रबार महोत्सबको उद्घाटनमा जिम्वावेको फिल्म गुड म्यान प्रदर्शन गरियो । इजिप्टको फिल्म बबल्स र ड्राई हट समर, नामिभिया एवम् ब्राजिलको फिल्म बडी गेम प्रदर्शन गरियो । हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित फिल्म आमा पनि शुक्रबार प्रदर्शन गरिएको थियो ।
यस्तै, शनिबार माधवराज खरेलको दुर्गामाण्डु सहित गणेशजँग रावलको समस्या, सजल लोप्चनको गाईड र पुरुषोत्तम बस्नेतको सुरक्षा प्रदर्शन गरिँदैछ । यस्तै शनिबार नै पाँच वटा अफ्रिकन फिल्म पनि प्रदर्शन गरिँदै छ । काठमाडौंको जमल स्थित नाचघरमा जारी यो फेस्टिभल आईतबार १२ बैशाखसम्म तीन दिन चल्ने छ ।
महोत्सवमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्न लोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते । जब फुलबुट्टे सारीकी अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा गाईन । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवाली देखि चलचित्र विकाश बोर्डका अध्यक्ष दाहालसम्मसम्म पुलकित भए ।











