फिल्म । सुयोग गुरुङको निर्देशनमा फिल्म ‘जेरीः अन टप’ घोषणा गरिएको डेटमा प्रदर्शन नहुने भएको छ । लुक्लापछि काठमाडौँको सेड्युलमा छायांकन भइरहेको फिल्मको निर्माणसँगै फागुन २ अर्थात् भ्यालेन्टाइन डेलाई रिलिज घोषणा गरिएको थियो । यद्यपि तेस्रो सेड्युल लद्दाखमा समय लाग्ने भएपछि फिल्मको नयाँ मिति छिटै घोषणा गरिने निर्माता सरोज न्यौपानेले बताए ।
उनले भने,‘हामीले छायांकनमा कुनै सम्झौता गरेका छैनौँ । सोही कारण हामीले यो प्रेम कथालाई आउँदो प्रणय दिवसमा ल्याउन असमर्थ भएका हौँ । यद्यपि आउँदो वर्षको सुरुआतमै यसलाई दर्शकले हलमा हेर्न पाउनु हुनेछ । जेनजीलाई समेत छुने प्रेम कथामा फिल्म तयार हुँदैछ ।’
फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, विपना थापा, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहने छ । ‘जेरी अन टप’मा भुवन र विपनाले अनमोलको बाबुआमाको रोलमा जोडी बाँध्दैछन् । अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।