किन दयाले देखाउन सकेनन् प्रचारमा समानता ?

फिल्म । अहिलेका सर्वाधिक व्यस्त अभिनेतामा पर्छन्, अभिनेता दयाहाङ राई । उनको फिल्मको सुटिङसँगै प्रदर्शन पनि जुध्ने गरेको छ । दया अभिनित दुई फिल्म एकसाथ प्रदर्शन हुनु अब नयाँ खबर रहेन । यद्यपि प्रचारका क्रममा समय नदिएको आरोपले दयालाई बेलाबखतमा लखेट्ने गरेको छ । गएको होलीलाई लक्षित गर्दै गत फागुन २९ गते प्रदर्शन भएको ‘अञ्जिला’ र चैत १ गते प्रदर्शन भएको ‘राजागञ्ज’ दयाको अभिनय रहेको छ ।

‘अञ्जिला’ राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म भएकाले दयाको लागि खास मानिन्छ छ । किनकि उनी खेललाई माया गर्ने कलाकारमा पर्छन् । अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमा चिनिएका निर्देशक दीपक रौनियारले निर्देशन गरेको फिल्म ‘राजागञ्ज’ प्रदर्शनरत छ । व्यावसायिक रुपमा यो घरेलु बजारमा कम्जोर देखिएको छ ।

‘राजागञ्ज’ को तुलनामा ‘अञ्जिला’ लाई दयाले आफ्नो सामजिक सञ्जालसँगै प्रचारमा कम साथ दिएको विषय सामाजिक सञ्जालमा उठेको छ । ‘राजागञ्ज’ को हरेक जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका दयाले ‘अञ्जिला’ को भने टिजर र ट्रेलर मात्र सेयर गरेका छन् । यसकारण पनि दयाले विभेद गरेको सामाजिक सञ्जाल प्रयोगकर्तालाई लागेको हुनसक्छ ।

फिल्म हेर्न हलमा दर्शकको चाँप बढेपछि दर्शकको प्रतिक्रिया लिन निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ र वितरक करण श्रेष्ठ मात्र हलमा पुगिरहेका छन् । ‘अञ्जिला’ समूह हलमा दर्शकसामू कलाकार विहिन हुँदा पनि दया हल गएका छैनन् ।

त्यसो त दयाले हालै एक पडकास्टमा हलमा गएर दर्शक प्रतिक्रिया लिने विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन् । ‘मैले फिल्म बन्ने प्रक्रियामा मेहनतका साथ काम गर्ने हो, हलमा हामीले रिजल्ट हेर्ने हो । प्रिमियर वा विशेष स्क्रिनीङ प्रतिक्रिया लिँदा रमाइलो लाग्छ, सुझाव आउँछ तर हलमा दर्शक भेट्दा प्रेसर दिएर राम्रो बोल्न लगाएको जस्तो लाग्छ । तर, हाम्रो मार्केटिङ शैलीले गर्दा मन नलागी नलागी पनि हल पुग्ने गरेको छु’, उनले पडकास्टमा गरिएको कुराकानीमा भनेका छन् ।

फिल्म प्रदर्शनमा निर्माता र वितरकको अधिकार हुने हुँदा कलाकार प्रत्यक्ष जोडिएको हुदैनन्, तर आफैँले काम गरेको फिल्महरुलाई आफ्नो प्लेटफर्ममा समान ठाउँ दिनुभने कलाकारको दायित्व रहन्छ । त्यसो गर्न नसक्दा दया पनि आलोचनाबाट आछुतो हुन् सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्