छायांकनमा ‘मेयर’

फिल्म । सर्लाही जिल्लाको पूर्वपश्चिम लोकमार्गसँग जोडिएको बागमती नगरपालिका प्रमुख भरतकुमार थापाको कार्यशैलीबाट प्रभावित रहेर निर्माण हुने चलचित्र ‘मेयर’ को छायांकन सुरू गरिएको छ । नगरप्रमुख थापाले स्थानीय तहमार्फत गर्नुभएको विकास निर्माण, शिक्षा र स्वास्थ्यमा परिवर्तनका विषयलाई प्रस्तुत गरिने निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए । उनले फिल्मको छायांकन बिहिबार काठमाडौँमा गरिएको र शनिवारदेखि सर्लाहीमा गरिने बताए ।

चलचित्रमा शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने देखिदैछन् । शक्ति र क्षमताका कारण चर्चामा रहनु हुने नगरप्रमुख थापाको राजनीति चलचित्र झैँ भएकाले आफू उक्त भूमिका निर्वाह गर्न तयार भएको अभिनेता लामिछानेले बताए । ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ पश्चात निर्देशक खनाल र अभिनेता लामिछाने चौथो पटक सहकार्य गर्दैछन् ।

चलचित्रमा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेब, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा लगायतका कलाकारले अभिनय रहनेछ ।

विसं २०६५ सालमा स्ववियु अध्यक्षमा उम्मेदवारी दिएपछि राजनीतिज्ञको रुपमा परिचित भएका थापाले सर्लाही क्षेत्र नम्बर तीनबाट संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारी दिएका थिए । यद्यपि उनले विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा मात्र राजनीतिक सफलता प्राप्त गरे । त्यसयता मेयर थापा सोही नगरपालिकामा दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा छन् ।

कमेन्ट गर्नुहोस्