फिल्म । अभिनेता आर्यन सिग्देललाई कुनै समय ‘चकलेटी ब्वाई’ भन्ने गरिथ्यो । उनी ‘गुड लुकीङ’ सँगै अभिनय गर्न सक्ने कलाकारका रुपमा परिचित छन् । उनले सुरुआती दिनमा प्रेम कथानक फिल्ममा धेरै अभिनय गरे । उनलाई दर्शकले रुचाए पनि । तर, फिल्मको कथ्य शैलीमा फरक आउन थालेपछि आर्यनको जादु चल्न छाड्यो ।
विशेषत अभिनेता दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, विपिन कार्की जस्ता कलाकारको उदय, ‘छक्का पञ्जा’, ‘जात्रा’, ‘कबड्डी’ जस्ता फिल्म दर्शकको रोजाईमा पर्न थालेपछि आर्यनलाई खोजिने फिल्ममा कमि आयो ।
यसलाई आर्यनले पनि स्वीकारेका छन् । उनले हालै फिल्म ‘महाभोज’ को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त समयमा आफूलाई फरक भूमिकामा ल्याउने आट कसैले नगरेको बताए ।
‘त्यो समयमा मैले गरिरहेको फिल्म र दर्शकको रोजाईमा परिरहेको फिल्म फरक थियो । मैले गर्ने फिल्मका कारण मलाई कसैले पनि माटो सुहाउँदो फिल्मको लागि अफर गरेनन् । मलाई आएका फिल्म दर्शकको रोजाईमा परेनन्’, उनले भने ।
आर्यनले आफूमा भिन्नता देख्ने श्रेय निर्देशक दिनेश राउतलाई दिए । उनले भने,‘मलाई फरक चरित्रमा ल्याउने र सफल बनाउने आट निर्देशक राउतले गरे । उनले गरेको कोसिसले मलाई फरक रुपमा स्थापित हुन् मदत गरेको छ । यो श्रेय दिनेशलाई नै जान्छ ।’
यसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतको अभिनय रहेको छ । विकास सुवेदीले कथा तथा पटकथा लेखेको यसलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।