पोस्टरमा यस्तो देखियो ‘उपहार’

फिल्म । नेपाली फिल्म ‘उपहार’ को पहिलो झलकको रुपमा पोष्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २५ गते प्रदर्शन तय गरिएको फिल्मको सार्वजनिक पोस्टरमार्फत कथासारको सङ्केत गरिएको निर्माण पक्षले जानकारी दिएका छन् । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरू अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ ।

चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको फस्टलुक पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । फस्टलुक पोस्टरमा अभिनेता मुकुन भुषाल ह्वीलचेयरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । फस्टलुक पोष्टरको पृष्ठभूमिमा हवाईजहाज र चराहरु पनि छन् । अभिनेत्री पुजा खुशी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

अर्को पोस्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुलाबेहुली लुक्समा देखाइएको छ । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पुजा शर्मालाई पनि अँटाइएको छ । यो फस्टलुक पोस्टर रोमान्टिक भाव लक्षित छ । त्यस्तै अर्को पोस्टर उपहार शैलीमा निर्माण गरिएको छ । फस्टलुक पोस्टरमा रिबन बाँधिएको छ । जहाँ मुकुन भुषाल, रेखा थापा, पुजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ । चौथो पोस्टरमा अभिनेता मुकुनलाई ह्वील चेयरमा देखाइँदा रेखा कालो चस्मामा आकर्षक देखिएकी छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन् ।

फिल्ममा रेखा थापा, मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषालको अभिनय छ । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्