एकल गायनमा प्रस्तुत हुदै दुर्गा

संगीत । कौरा किङका रुपमा पहिचान बनाएका कौरा गायक दुर्गा गुरुङ पहिलोपटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । कौरा गीत गायन र संगीतमा एकछत्र राज गर्दै आएका गायक गुरुङ सांगितीक क्षेत्रमा सक्रिय भएको रजत वर्ष पुगेको अवसरमा एकल गायन कार्यक्रमममा प्रस्तुत हुन लागेका हुन् ।गायक गुरुङ यही शनिबार राष्ट्रिय नाचघरमा हुने दुर्गा गुरुङ एकल साँझ २०७५ मा आफ्नो कौरा (चुट्का) गीतका साथ प्रस्तुत हुन लागेका हुन् ।

दुर्गा गुरुङ एकल साँझ २०७५ तमू (गुरुङ) समाज तनहुँ, काठमाडौंले आयोजना गर्न लागेको हो । समाजका अध्यक्ष गंगाराम तमूले आफ्नो कला संस्कृति परम्पराको जगेर्ना गर्ने तथा चुट्का (कौरा) गीतको संरक्षण र सम्वद्र्वन गर्ने हेतुले गायक, संगीतकार, संगीत संयोजक तथा वाद्यवादक दुर्गा गुरुङको एकल साँझ आयोजना गर्न लागेको बताए। ‘म गीत संगीतको क्षेत्रमा लागेको २५ वर्ष पुगेको छ । यसै अवसरमा पहिलोपटक एकल साँझमा प्रस्तुत हुँदैछु । अरु विधाको गीतहरु समेत गाउँदै आए पनि विशेष गरी कौरा गायकका रुपमा पहिचान बनेकाले एकल साँझमा म पनि विशेष गरी कौरा गीत नै प्रस्तुत गर्नेछु। किनभने यो हाम्रो यो परम्परा पनि हो । धेरैजसो कौरा गीत गाउनेछु, अरु विधाका केही गीत पनि पस्कनेछु’ गायक गुरुङले भने ।

करिब ३ घण्टासम्म चल्ने एकल साँझमा प्रत्यक्ष बाद्यवादनमा गायक गुरुङले १ दर्जन बढी गीत प्रस्तुत गर्नेछन्। उनले हे कानछी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढँुगाको बाजरैमा जस्ता आप्mनो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आँछ रे भन्दिनुजस्ता लोकपप, आयो मैना गयो मैनाजस्ता झोरा गीतका साथमा गुरुङ भाषाका गीतसमेत प्रस्तुत गर्नेछन्। दुर्गालाई गायनमा लोकदोहोरी गायक गायिका रेशम गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथिवी गुरुङ, रिदम थापा, राज गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिनेछन् ।

कुशल बाँसुरीवादक तथा मादल, तबला, हार्मो्नियम, किबोर्डलगायतको बाद्यवादनमा पोख्त रहेका तनहुँ–८ वसन्तपुरका दुर्गा सांगीतिक क्षेत्रमा छाउने उद्देश्यले २०५३ सालमा राजधानी आएका थिए। करिब १ दशक बाँसुरीवादनकै क्षेत्रमा सक्रिय रहेका उनी २०५६ देखि २०६० सालसम्म सांगीतिक समूह मंगोलियन हार्टमा बाँसुरीवादकको रूपमा रही गीत एरेन्ज र संगीत कम्पोज पनि गर्थे। डेढ दर्जन गुरुङ फिल्ममा संगीत तथा स्वर दिएका उनले ५ हजार गीतको म्युजिक एरेन्ज गरेका दुर्गाले आँसु नझार एल्बममा रहेको आँसु नझार बोलको दोहोरी गीतबाट गायन यात्रा शुरुआत गरेका थिए।

दुर्गाले रोदी घरैमा नामक लोक पप एल्बममा रहेको रोदी बस्न आउँछ रे भन्दिनु यानी मायालाईबाट लोकपप गायकको परिचय बनाए भने हे कानछी ढल्क्यो जोवन माइतै नभुल, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो हाइ मेरो मायालु, ठूल ढुंगाको बजारैमा रसैको माया हे मायाजस्ता गीतमा स्वर दिएका छन्। कौरा, लोकपप, दोहोरी गरी डेढ सयभन्दा बढी गीत गाएका उनको चांैरी गोठैमा, माछी लेवैमा, रोधी घरैमाजस्ता लोकपप, हे कान्छी, रिसिङ डाँडा रमाइलो, सोलोजुलुको, साली भेना, रसैको माया, आकाशै उज्यालोजस्ता कौरा एल्बम बजारमा आइसकेका छन्। तमु से हुला, आँधीखोला तमु समाजलगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका उनले गुरुङ फिल्म समाजद्वारा आयोजित पहिलो गुरुङ फिल्म अवार्ड तथा दोस्रो रोधी अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन्।

कमेन्ट गर्नुहोस्