क्याप्टेन रितेशको फिल्मी यात्रा

फिल्म । सैनिक जीवनमा रहेका रितेश चाम्सको जीवनशैली केही समय यता फेरिएको छ । क्याप्टेन भनेर सम्बोधन गरिने रितेशलाई अहिले हिरो / अभिनेता भन्न थालिएको छ । किनकि उनी विश्वकै प्रसिद्ध मिडियामा पुगेर आफ्नो अभिनयको बारेमा कुराकानी गरिरहेका छन् । गोर्खाली भनेर चिनिने रितेशले एक गोर्खाली सैनिकको जीवनलाई पर्दामा बाचेका छन् । उनले ‘गोर्खा वारियर’ मा निर्वाह गरेको भूमिकाले अहिले सम्पूर्ण गोर्खालीलाई वीरताको स्मरण गराईरहेको छ ।

सैनिकले युद्ध लड्दा देखाउने कौशलतासँगै परिवारको दायित्वलाई उनले व्यक्त गरेका छन् । उनले आफ्नो अभिनय यात्रामार्फत गोर्खालीको कथालाई विश्वसामु पुर्याउने उदेश्य रहेको बताए ।

‘म सैनिक थिएँ । केही फरक गरौँ भन्ने लगेर अभिनय सिक्न तर्फ लागे । किनकि बाल्यकालदेखि नै चाहना त थियो नै तर सिकेर र बुझेर यहाँ आए’, अभिनेता चाम्सले भने । उनले पहिलो फिल्ममार्फत नै गोर्खालीको विषयलाई देखाउन पाउँदा उत्साह थपिएको बताए । सैनिक जीवन बाचेका रितेशले फिल्मकै लागि केही तालिम समेत लिए । उनलाई आफू अभिनेता बन्छु भन्ने लागेदेखि नै आठ वर्ष लगाएर विभिन्न प्रशिक्षण लिए ।

‘मैले एउटा अभिनेतामा हुनु पर्ने सम्पूर्ण कुराहरू सिकेर नै अभिनयको सुरुआत गरे । पहिलो फिल्ममा नै मिलन चाम्स जस्तो निर्देशकसँग काम गर्न पाएँ । उहाँ जत्तिको सैनिकको विषयमा सायदै कसैले फिल्म बनाउन सक्नुहुन्छ होला’, रितेशले भने । उनले निर्देशक चाम्सलाई ‘गडफादर’ भनेर सम्बोधन गर्ने गरेकाछन् । किनकि उनी पहिलो फिल्मबाट नै ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरण अन्तर्गत विश्वका प्रसिद्ध अभिनेतासँग प्रतिष्पर्धामा रहे ।

‘हलिउडका विभिन्न अभिनेतासँग म अभिनेतामा प्रतिष्पर्धामा पहिलोचरणमै रहनु पनि आफैँमा उपलब्धि हो । मलाई यो लायक बनाउने मिलन दाई (निर्देशक मिलन चाम्स) नै हुनुहुन्छ । म अब अभिनयलाई नै निरन्तरता दिने तयारीमा छु’, रितेशले भने । बेलायतको पाइन उड स्टुडियोमा अभिनयमा मास्टर्स गर्ने पहिलो नेपाली रहेका रितेशले सैनिकको जीवनलाई दुरुस्तै पर्दामा ल्याएको निर्देशक चाम्सले बताए । यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय रहेको छ ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । उनले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

कमेन्ट गर्नुहोस्