फिल्म । बलिउडका दुई महारथी, अभिनेता आमिर खान र निर्देशक राजकुमार हिरानीको पुनर्मिलनले भारतीय फिल्म जगतमा ठूलो हलचल मच्चाएको थियो । ‘थ्री इडियट्स’ र ‘पीके’ जस्ता सफल फिल्म दिएपछि तेस्रो पटक उनीहरूले ‘दादासाहेब फाल्के’को बायोपिकमा काम गर्ने कुराले सबै उत्साहित थिए । तर, भारतीय मिडिया बलिउड हंगामाले विश्वसनीय स्रोतसँग गरेको कुराकानी अनुसार, ‘दादासाहेब फाल्के’ बायोपिक अहिलेका लागि रोकिएको छ । आमिर खानले स्क्रिप्टमाथि प्रश्न उठाएका कारण यस्तो भएको हो ।
आमिरले राजकुमार हिरानी र अभिजात जोशीबाट ‘दादासाहेब फाल्के’को स्क्रिप्ट सुने । उनलाई लाग्यो कि स्क्रिप्टमा फिल्मलाई सिनेमाघरसम्म पुर्याउन पर्याप्त तत्वहरू छैनन् । आमिरले हिरानी र जोशीबाट हास्य, भावना र ड्रामाको संयोजनको अपेक्षा गरेका थिए, तर स्क्रिप्टमा हास्यको कमी थियो । यसले आमिरको मनमा शङ्का उत्पन्न गरायो र उनले हिरानीलाई स्क्रिप्ट पुनः लेख्न आग्रह गरे ।
स्रोतका अनुसार आमिरको प्रतिक्रियाबाट हिरानी र अभिजात चकित परे र अब के गर्ने भनेर सोचिरहेका छन् । अक्टोबर २०२५ मा सुटिङ सुरु हुने भनिएको फिल्म अब समयमै बन्दैन । यो परियोजना अहिले ठप्प भएको छ, र आमिरले नयाँ स्क्रिप्टहरूको खोजी सुरु गरिसकेका छन् । उनी विभिन्न उद्योगहरूबाट नयाँ विषयहरू सुनिरहेका छन् । अहिलेलाई राजकुमार हिरानीको फिल्म मात्र नभएर लोकेश कनागराजको फिल्म पनि पछाडि परेको देखिन्छ ।












