‘मोदीबेनीको कथा पढेपछि तीन रात सुत्न सकिन्’ : वर्षा

फिल्म । अभिनेत्री वर्षा सिवाकोटीले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार भएको ‘मोदीबेनी’ मा विषयवस्तुले आकर्षित गरेको बताएकी छिन् । फिल्मको प्रचारप्रसारमा जुटेकी अभिनेत्री सिवाकोटीले कथा पढेपछि आफूलाई त्यसबाट निस्किन केही समय लागेको बताइन ।

‘पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा फिल्म तयार गरिएको छ । नयाँ कन्टेन र त्यसलाई पर्दामा उतार्न टिमले देखाएको मेहनतले फिल्मसँग जोडिए । यसको कथा पढेपछि म दुई/ तीन रातसम्म सुत्न सकेकी थिइन् । यस्तो पनि हुन्छ र ? जस्तो लागेको थियो’, अभिनेत्री सिवाकोटीले भनिन् ।

उनले सामाजिक विषयमा यो कथा पर्दा मार्फत दर्शकसम्म पुग्नु पर्छ भन्ने लागेर नै फिल्ममा काम गर्न थप प्रेरित गरेको बताइन । ‘यसले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई दर्शाउँछ’, उनले भनिन् ।

निर्देशक शङ्कर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता सरोज खनाल,अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नव अभिनेता अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

साउन १८ गते प्रदर्शन तय गरिएको फिल्म ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको व्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन, एसडी योगी र शान भुसालले सङ्गीत भरेका छन् ।

कमेन्ट गर्नुहोस्