फिल्म । गत असोज २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी २’ले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । राम्रो शो संख्या र दर्शक अकुपेन्सीसहित सिनेमा प्रदर्शनरत छ । पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट माया पाएको सिनेमा हेर्ने दसैँ विदामा दर्शकको राम्रो भिडभाड देखियो । सुरुवाती दिनबाट नै राम्रो व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिएको हो ।
दर्शकको राम्रो साथ पाएपछि अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख शहरहरु काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् ।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।