टिभी । चर्चित नृत्याङ्गना तेरिया फौजा मगर, जसले सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर सिजन ३’ र सन् २०१७ मा ‘झलक दिखला जा सिजन ९’ को उपाधि जितेकी थिइन्, अब लोकप्रिय सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईसँगै नेपाल टेलिभिजनको नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ को होस्टको रूपमा देखिने भएकी छिन् ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित यो विश्वस्तरीय शो आइतबारदेखि नेपाल टेलिभिजनमा प्रसारण सुरु भएको छ । विश्वभरका २३ देशबाट नेपाली मूलका प्रतिभाहरूको सहभागिता रहेको यो कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ः५० बजे प्रशारण हुनेछ ।
विश्वभर छरिएका नेपाली जातिका १ सय २० जना प्रतिभाशाली प्रतिस्पर्धीहरूले भाग लिएको यो शोको विजेताले रु १ करोड पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमकी होस्ट तेरिया फौजा मगर एक प्रसिद्ध नेपाली नृत्याङ्गना हुन्, जसले भारतीय नृत्य रियालिटी शोहरूमा महत्वपूर्ण सफलता हात पारेकी छन् । नरेश भट्टराई पनि लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेका परिचित व्यक्तित्व हुन् । यी दुई अनुभवी व्यक्तित्वको संयोजनले शोलाई थप रोचक र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।