‘स्पाइडर म्यान : नो वे होम’ ओटीटी रिलिजमा समय लाग्ने

फिल्म । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढ्दै गर्दा फिल्महलहरु बन्द हुने सम्भावना बढ्दो छ । मनोरंजन अन्तर्गत पर्ने भएकाले फिल्म हल , स्विमिङ , पार्टी प्यालेस , सभा सम्मेलनमा रोक लगायतका नियम छिटै सम्वन्धित जिल्ला अधिकारीहरु मार्फत लागु हुनसक्ने अनुमान गरिएको छ । यद्दपी गत असोजबाट खुलेको हलहरुमा भारतीय फिल्म सूर्यवंशी , हलिउड फिल्म स्पाइडरम्यान : नो वे होम र भारतीय फिल्म पुष्पाले राम्रो व्यापार गर्न सफल रह्यो । यो समयमा नेपाली फिल्मका निर्माताहरुले फिल्म रिलिज गर्ने आट गर्न नसक्दा यसको फाइदा विदेशी फिल्मले उठाए ।

पछिल्लो समय रिलिज भएको नेपाली फिल्म ‘कठपुतली’ ले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले दावी गरेका छन् । यद्दपी माथि उल्लेखित फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेकोमा कसैको दुइमत नहोला । हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ को कुरा गर्ने हो भने यसले तीन सातामा नेपाली बक्सअफिसमा झन्डै ६ करोड ९० लाख ग्रस कमाइ गरेको वितरक कम्पनि एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

टम हल्यान्ड स्टारर फिल्ममा बेनेडिक्ट कम्बरब्याच, स्यामुयल एल ज्याक्सन, जेन्दया, कोबे स्मल्डरस लगायतको अभिनय रहेको छ । जोन वाट्सले निर्देशित फिल्मलाइ ओटीटीमा हेर्न अझै केहि समय कुर्नु पर्ने भएको छ । फिल्म अझै २ महिनासम्म डिजिटल रिलिज नहुने भएको छ । २ महिनापछि पनि यसलाई पहिला पेड सिस्टममा रिलिज गरिनेछ । त्यसपश्चात यसलाई नेटफ्लिक्समा हेर्न पाइने छ ।

कमेन्ट गर्नुहोस्