फिल्म । गत चैत २७ गतेदेखि प्रदर्शनरत फिल्म ‘राम नाम सत्य’ लाई दर्शकले साथ् दिएका छन् । शनिवार काठमाडौँ उपत्यकाका अधिकाँस हलमा पुग्दा दर्शकले दिएको प्रतिक्रियाले आफूसहित निर्माण समूह उत्साहित रहेको निर्देशक माइकल चन्दले जानकारी दिए । उनले फिल्मका कलाकारसहित दर्शकसँग अन्तरक्रिया गर्ने क्रम चलिरहने बताए ।
दर्शकले आफ्नो कामलाई रुचाएको अभिनेता विराज भट्टले जानकारी दिए । उनले आफ्नो काम र मेहनतलाई दर्शकले दिएको प्रतिक्रियाले आगामी फिल्ममा झनै ऊर्जाका साथ काम गर्ने बताए ।
‘दर्शकले फिल्म रुचाउनुभएको छ, नेपाली फिल्ममा यत्तिको एक्सन रहेछ भन्ने प्रतिक्रिया पाएँ । म दर्शकले प्रतिक्रियाले उत्साहित छु’, अभिनेता भट्टले भने । सस्पेन्स, प्रेम र एक्सनले भरिएको फिल्ममा निर्देशक चन्दको कथा, पटकथा रहेको छ ।
फिल्ममा अभिनेता भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, नव नायक आयुष सिंह ठकुरी, दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाहलगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारका रूपमा देखिएका छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने सह–निर्मातामा तेजराज चटौत र दमनबहादुर चन्द रहेका छन्।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरका रूपमा छन्। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनले वितरण गर्ने यस फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ।
मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी तथा शेरबहादुर लामाको छायांकन रहेको ट्रेलर साहिल खानले सम्पादन गरेका हुन्। सुनिल राई आर्ट निर्देशक रहेका छन् भने नविनजंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डाइरेक्टरका रूपमा छन्। अभिमन्यू निरवी र समय थपलियाले स्क्रिप्ट कन्सल्टेन्टको भूमिका निर्वाह गरेका छन्।










