‘मेरो फिल्मको अडिसन काठमाडौंमा गर्छु’

फिल्म। भारतीय अभिनेता, लेखक तथा निर्देशक डाक्टर चन्द्रप्रकाश द्विवेदीले आउँदो दुई फिल्मको अडिसन काठमाडौंमा गर्ने बताएका छन्। आइतबार साँझ ललितपुरस्थित एक होटलमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित अन्तरक्रियामा उनले आफूले दुई फिल्म लेखिरहेको बताए। ‘नेपालसँग हाम्रो संस्कृति मिल्छ। हाम्रो स्वभाव मिल्छ। जब हामीले श्रीलंकाको अभिनेत्रीलाई स्वीकारेका छौं भने नेपालका लाई पनि स्वीकार्छौं’, निर्देशक द्विवेदीले भने। उनले आफू सन् २००४ मै चितवन आएको र प्रभावित भएर भारत फर्किएपछि एक फिल्ममा चितवनको प्रसँग उल्लेख गरेको बताए।

‘म नेपालमा छायांकन गर्ने उदेश्यले आएको थिए। विमानस्थलमा देखिएको भिडले अमिताभ बच्चनलाई ल्याएर छायांकन सम्भव हुदैन भन्ने लाग्यो। तर म गलत रहेछु। अहिले आउँदा सबै ठिक देखे’, उनले भने। सन् १९९१ मा टेलिभिजनमा प्रसारण भएको टेलीशृंखला ‘चाणक्य’ मा अभिनय, निर्देशन र लेखन गरेर स्थापित भएका डाक्टर द्विवेदीले आयोजित अन्तरक्रियामा तीन दशक लामो चलचित्रको अनुभवका विषयमा चर्चा गरे।

अन्तरक्रिया कार्यक्रममा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झा अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेना लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्