फिल्म । एक्सन- थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको गीतका शब्द रमेश देवकोटाले लेखेका हुन्। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन्। भिडियोमा उनीहरू राधा-कृष्णको भूमिकामा प्रस्तुत भएका छन्।
पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको डीओपी तथा सम्पादन रहेको छ। एकातिर अपराध र थ्रिलरको कथा तथा अर्कोतिर प्रेमिल भाव बोकेको ‘राधा’ गीतले फिल्मको कथावस्तुलाई थप फराकिलो बनाउने निर्माण पक्षको विश्वास छ। फिल्मको कथा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या तथा पारिवारिक सम्बन्धको वरिपरि घुमेको छ।
मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन सयनम अधिकारीले गरेका हुन्। निर्देशक अधिकारीका अनुसार फिल्ममा काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गरिएको छ।
फिल्ममा १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको एक दाजु कसरी अपराधीहरूको संसारमा फस्छ र बहिनीको खोजीका क्रममा कस्ता खतरासँग भिड्छ भन्ने कथा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए।
‘फिल्म एक दाजुले आफ्नी १९ वर्षीया बहिनीको खोजीमा अपराधीहरूसँग गर्ने संघर्षको कथामा आधारित छ,’ निर्देशक अधिकारीले भने, ‘कालमाण्डू एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ।’ फिल्मले एक्सनसँगै दाजु–बहिनीबीचको प्रेम, खोजी र अपराधविरुद्धको खतरनाक संघर्षलाई प्रस्तुत गर्नेछ।
फिल्ममा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर तथा पर्साको ठोरीमा गरिएको हो। पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व निर्देशन, रवि भुजेलको सहायक निर्देशन तथा पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ। फिल्मको संगीत निर्देशन सम्राट न्यौपानेले गरेका हुन्।
कमल थिङ निर्माता रहेको फिल्ममा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्। फिल्मलाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ।









