प्रेम जीवनका हल्लाबारे मलाइकाको स्पष्टोक्ति

फिल्म । भारतीय अभिनेत्री मलाइका अरोडाले आफ्नो प्रेम जीवन र व्यवसायी हर्ष मेहेतासँग जोडेर पछिल्लो समय भइरहेका चर्चाबारे मौनता तोडेकी छन् । गत वर्ष मुम्बईमा आयोजित गायक एनरिक इग्लेसियसको कन्सर्टमा हीरा व्यवसायी हर्ष मेहेतासँग सँगै देखिएपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको हल्ला फैलिएको थियो ।

हालै ‘द नम्रता जकारिया शो’मा सहभागी हुँदै मलाइकाले ती चर्चालाई ‘हाँस उठ्दो’ भन्दै खण्डन गरेकी छन् । उनले आफू बाहिर निस्कँदा जसुकैसँग देखिए पनि सञ्चारमाध्यमले नाम जोड्ने गरेको गुनासो गरिन् । उनले भनिन्, ‘मानिसहरूलाई कुरा काट्न मन पर्छ। म कुनै पुरानो साथी, म्यानेजर वा विवाहित साथी जोसुकैसँग बाहिर देखिएँ भने पनि मेरो नाम उनीहरूसँग जोडिन्छ । यस्ता अनावश्यक कुरालाई म प्रश्रय दिन चाहन्न, किनभने यसले कसैलाई फाइदा पुग्दैन ।’

३३ वर्षीय हर्ष मेहेतासँगको सम्बन्धबारे सामाजिक सञ्जालमा भइरहेका अड्कलबाजीलाई आफू र आफ्ना साथीहरूले हाँसेर उडाउने गरेको पनि उनले बताइन् ।अन्तर्वार्ताकै क्रममा मलाइकाले पूर्व प्रेमी तथा अभिनेता अर्जुन कपुरका विषयमा पनि भावुक अभिव्यक्ति दिएकी छन् । लामो समयको प्रेम सम्बन्धपछि अलग भएका अर्जुनबारे उनले भनिन्, ‘अर्जुन मेरो जीवनको निकै महत्त्वपूर्ण हिस्सा हुन् र सधैँ रहनेछन् । जे जस्तो भए पनि उनी मेरो लागि धेरै अर्थ राख्छन् ।’

तर, उनले आफ्नो विगत वा भविष्यबारे धेरै चर्चा गरेर निजी जीवनलाई मिडियाको ‘फिडिङ ग्राउन्ड’ बनाउन नचाहेको स्पष्ट पारिन् । मलाइका र अर्जुनको ब्रेकअपपछि मलाइका हर्ष मेहेतालाई डेट गरिरहेको खबरले सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो । विभिन्न अवसरमा उनीहरू सँगै देखिएपछि ती अड्कलबाजी अझ चुलिएको थियो ।

कमेन्ट गर्नुहोस्