फिल्म । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’को ट्रेलरमा सङ्घर्षदेखि सफलतासम्मको कथालाई समेटिएको छ । फुटवल खेलेकी क्याप्टेन सुब्बाले एकाध विज्ञापन बाहेक अन्यमा अभिनय भने गरेकी थिइनन् । उनले यस फिल्ममा अभिनय गर्नलाई केही समय लिईन् । किनकि उनको अधिकाँस दृश्य अभिनेता दयाहाङ राई र सृजना सुब्बासँग थियो ।
थियटरमा अभिनय प्रशिक्षकसमेत रहेका दया र सृजनासँग स्क्रिन सेयर गर्न क्याप्टेन सुब्बाले अभिनयमा मेहनत गरिन् । त्यसको परिणाम स्वरूप आगामी फागुन २९ गते रिलिज हुने ‘अञ्जिला’ उनले आफ्नो भूमिका आफैँले निर्वाह गरेकी छिन् ।
‘मलाई सुरुआतमा डर लागेको थियो, तर यो टिमले बनाएको सहजताले मैले अभिनय गर्न सकें । मैले जीवनमा बिर्सन नहुने नाममा निर्देशक मिलन चाम्स, धर्मपिता प्रेमकुमार श्रेष्ठ र दयाहाङ राई बनेका छन् । म उहाँहरुको सहयोगलाई विर्सन सक्दिन’, क्याप्टेन सुब्बाले भनिन् ।
उनको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया बटुलेको छ । सानैदेखि जीविकोपार्जनका लागि इटा भट्टादेखि चियापति फ्याक्ट्रीसम्म काम गरेकी अञ्जिलाले प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा निर्माण टिम विश्वस्त छ ।
‘म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ । पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृदयदेखि नै आभारी छु । मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग फिल्म खेल्छु भनेर । यो उपलब्धीलाई शब्दमा बयान गर्ने क्षमता मसँग छैन’, क्याप्टेन सुब्बाले भनिन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा क्याप्टेन सुब्बासँगै अभिनेता दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गएका छन् । अञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा छायांकन गरिएको फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।
यसको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्ममा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।










