राम नाम सत्य ट्रेलर : ट्रेन्डिङको नम्बर १, २४ घन्टामै १० लाख भ्यूज

फिल्म । आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा लोकप्रियता हासिल गरेको छ। बुधबार सार्वजनिक गरिएको सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलरले छोटो समयमै दर्शकको ध्यान खिच्दै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । माइकल चन्दको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्मको ट्रेलर सार्वजनिक भएको १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधाअन्तर्गत नेपालमा ८ औँ स्थानमा ट्रेन्डिङमा परेको थियो ।

त्यसैगरी, १० घन्टाभित्रै ट्रेलरले नेपालमा युट्युब सिनेमा विधाअन्तर्गत नम्बर १ स्थान हासिल गरेको छ। २४ घन्टाभित्र १० लाखभन्दा बढी भ्यूज बटुल्न सफल ट्रेलरमा २६ सयभन्दा बढी प्रतिक्रिया आएका छन्। अधिकांश प्रतिक्रियामा दर्शकले फिल्मप्रति उत्साह व्यक्त गरेका छन्। ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको निर्देशक चन्दले बताएका छन्।

ट्रेलरमा अभिनेता विराज भट्टको दमदार एक्सन र संवाद प्रस्तुत गरिएको छ। साथै, अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम कथा तथा विराज र सुशीलबीचको द्वन्द्वलाई पनि देखाइएको छ। फिल्ममा नव नायक आयुष सिंह ठकुरीको भूमिका विशेष रहेको छ। उनको सस्पेन्सपूर्ण भूमिकाले दर्शकमा थप कौतूहल सिर्जना गरेको छ। नव नायिका खुशी कार्की र विराज भट्टको नृत्य रहेको ‘हुम्लाको सिमी’ बोलको गीत पनि चर्चामा रहेको छ।

फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाहलगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारका रूपमा देखिएका छन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने सह–निर्मातामा तेजराज चटौत र दमनबहादुर चन्द रहेका छन्।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरका रूपमा छन्। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनले वितरण गर्ने यस फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ।

मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी तथा शेरबहादुर लामाको छायांकन रहेको ट्रेलर साहिल खानले सम्पादन गरेका हुन्। सुनिल राई आर्ट निर्देशक रहेका छन् भने नविनजंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डाइरेक्टरका रूपमा छन्। अभिमन्यू निरवी र समय थपलियाले स्क्रिप्ट कन्सल्टेन्टको भूमिका निर्वाह गरेका छन्।

कमेन्ट गर्नुहोस्