विदेशमा रिलिजबारे भ्रम छरियो : ‘अञ्जिला’ टिम

फिल्म । गत होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको नेपाली फिल्म ‘अञ्जिला’ले नेपालमा दर्शकको राम्रो साथ पाएको छ । नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको फिल्म हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएकै कारण दोस्रो सातामा झनै शो बढ्दै प्रदर्शनरत छ । नेपालभर शो सङ्ख्या निरन्तर बढ्नु र दर्शकले नै फिल्म हेर्न सिफारिस गर्नुले यसको माग अन्तर्राष्ट्रिय बजारमा समेत बढेको छ । सोही सन्दर्भमा ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका छन् ।

निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, हालसम्म जापान, कोरिया, क्यानडा र हङकङ बाहेक अन्य कुनै पनि देशको वितरण तथा प्रदर्शन अधिकार बिक्री गरिएको छैन । सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा फिल्म रिलिज गर्न लागेको दाबी गरिरहेको पाइएको, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माताहरूका अनुसार, अन्य देशहरूको लागि अब आधिकारिक रूपमा वितरण अधिकार दिन सुरु गरिएको छ । इच्छुक वितरक तथा प्रदर्शकहरूलाई आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ । ‘अञ्जिला’लाई लिएर दर्शक तथा समीक्षकहरूले यसको कथा, प्रस्तुति, अभिनय र निर्देशनलाई निकै सराहना गरिरहेका छन् । यसमा कलाकारसमेत रहेका श्रेष्ठ अञ्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा कप्तान सुब्बा आफैले अभिनय गरेकी छिन् ।

फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्