फिल्म । आजदेखि दुई नेपाली फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छायाँ’ प्रदर्शन भएको छ । निर्देशक राजु गिरी निर्देशित ‘ईश्वर’ मा अन्तरजातीय प्रेमकथालाई उठान गरिएको छ । राजुका अनुसार प्रहरीको जागिर छोडेपछि ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ । उनले भने, ‘पेशाबाट ऊ अलग्गिए पनि गाउँमा उसले बर्दी बिनाको प्रहरी भएर काम गर्छ । उसले गाउँमा भ्रष्टचारी, घुसखोरीहरु विनाश गर्छ ।’
राजु कन्टेन्टको हिसाबले अहिलेसम्मको आफ्नो फिल्महरु भन्दा ‘ईश्वर’ फरक रहेको दाबी गर्छन् । ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टिना गुरुङलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गरेको हो ।
यस्तै, आजदेखि नै प्रदर्शन भएको ‘ब्ल्याक छायाँ’ लाई आरएल लामा मोक्तानले निर्देशन गरेका हुन् । यसमा नीर शाह, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, सलोन बस्नेत, सुष्मा कार्की, शारदा गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।











