फिल्म । पूजा शर्माको अभिनय रहेको फिल्म ‘दान्भी’ लाई प्रदर्शनका लागि रीच इन्टरटेनमेन्टले वितरण गर्ने भएको छ । वितरण संस्थाका तर्फबाट सम्झौता गर्दै करण श्रेष्ठले आगामी केही दिनमै प्रदर्शन घोषणा गरिने जानकारी दिए ।
‘हामीले अभिनेत्री शर्मासँगै निर्देशकीय पक्ष, मेकिङ र फिल्मको विषयवस्तुको कारण वितरणको जिम्मा लिएका हौँ । यसको प्रदर्शन छिटै घोषणा गर्ने छौँ । दर्शकले अभिनेत्री शर्मालाई एक्सन अवतारमा देख्न धेरै प्रतीक्षा गर्नु पर्दैन’, वितरक श्रेष्ठले भने ।
रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मलाई मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । पवन राना मगर कार्यकारी निर्माता रहेको फिल्मका सह-निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् ।
यसमा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको संगीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ । फिल्ममा पूजासँगै नव-नायक कुन्साङ बोमजमको मुख्य भूमिका छ । जुना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा एक्सन र प्रेम कथामा आधारित छ ।










