फिल्म । सर्लाहीका कलाकारहरुलाई स्थानीय बरहथवा नगरपालिकाले अभिनन्दन तथा सम्मान गरेको छ । गत शनिवार नगरपालिका अन्तर्गतको २ नम्बर वडा हजरियास्थित खेल मैदानमा आयोजित कार्यक्रममा कलाकार र पत्रकारसहित १७ जना सम्मानित भएका छन् । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिइएको कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारी , वरिष्ठ कलाकार पवन मैनाली , एक्सनस्टार निखिल उप्रेती, लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई , ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर), निर्देशक सम्झना उप्रेती रौनियार, रंग पत्रकार प्रदीप कार्की, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री र कर्णराज गिरी, कलाकार विजय बराल, मोडल कविता नेपाली लगायतलाई पनि सम्मान गरिएको थियो ।
दिनेश , पवन , निखिल , नरेश , शिवशंकर , कमल लगायतलाई अभिनन्दन गरिएको थियो । सम्मान कार्यक्रमभन्दा अगाडि कलाकारहरुलाई होटेलबाट टायरगाढामा राखेर भव्य र्याली सहित कार्यक्रम स्थलसम्म लागिएको थियो । झन्डै ३ किलोमिटर यात्राको क्रममा कलाकर्मीले तराईको संस्कृतिलाई स्मरण गरेका थिए । निखिलले टायरमा यात्रा गर्दा बाल्यकाल सम्झे । ‘पछिल्लो समय कहिले यसरि यात्रा गरे सम्झना छैन तर बाल्यकालमा आफैले हाकेको पनि छु’ निखिलले भने ।
निखिलसँगै शिव शंकर , कमल , कर्णराजको लागि यो नौलो नभएता पनि नरेशले भने नयाँ अनुभूति गरिरहेका थिए । ‘नौलो अनुभव भइरहेको छ’ उनले भने । नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई देशव्यापी रुपमा चिनाउन योगदान गर्ने व्यक्तिहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए । रंग पत्रकार नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएर मनोरञ्जन समेत प्रदान गरेका थिए ।










