आफ्नै गीतमा विन्दुको मोडलिङ

सङ्गीत । गायिका विन्दु परियारले आफैँद्वारा स्वरबद्ध गीतमा नृत्य पनि गरेकी छिन् । गायक एवं र्‍यापर आश्मान केसीसँगको सहकार्यमा तयार भएको ‘च्वाप्प मोइ’ गीतको भिडिओमा विन्दु स्वयम् फिचर्ड छिन् । गायिका विन्दुले आफ्नो गीतमा देखिने सपना यसपटक पुरा भएको बताइन ।

उनले भनिन्, ‘आफ्नो गीतमा नाचौं-नाचौं लागेको थियो । यसपटक त्यो सपना पुरा भयो । यसपटक नाच्ने शैलीको गीत तयार गरेको छु । आश्मानजीसँगको कोल्याबले पृथकता दिएको महसुस भएको छ । गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौँ ।’

उनले गीतमा पहिलोपटक मोडलिङ गरेको बताउदै नयाँ अनुभव सङ्गालेको बताइन । उनले नयाँ गीत अहिलेको समयसापेक्ष तयार गर्ने कोसिस गरेको बताइन । ‘मैले गाउने भन्दा अलि भिन्न र फरक गीत बनाउने कोसिस गरेकी छु । अहिले महोत्सवको समय भएकाले यो गीतले श्रोता पाउनेमा विश्वस्त छु’, उनले भनिन् ।

गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने र्‍यापर आश्मानले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्