‘द्रौपदी’ मा डोल्पाको सुन्दरता

फिल्म । नेपाली फिल्म ‘द्रौपदी’ मा डोल्पाको सुन्दरता र संस्कृतिलाई देख्न पाइने निर्देशक तथा कलाकार ऋषिराज आचार्यले बताएका छन् । उनले झन्डै ४६ दिन फिल्मको छायांकन हिमाली भेगमा गरेको जानकारी दिए ।

‘यो फिल्मलाई डोल्पामै सम्पूर्ण छायाङ्कन गरेर तयार गरेका छौँ । यसले पर्यटनलाई पनि टेवा पुर्‍याउँछ भन्ने हाम्रो विश्वास छ । नेपालको वास्तविक सुन्दरता यसमा देख्न सकिन्छ । यसलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गरिएको छ । फिल्म हेरेका दर्शकले नेपालीपनको आभास गर्नेछन्’, निर्देशक आचार्यले भने ।

केन्द्रीय चलचित्र जाँच समितिको सदस्यसमेत रहेका निर्देशक आचार्यले डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे-फोक्सुण्डोसँगै विभिन्न स्थानलाई फिल्ममा समेटेको बताए । ‘माइनस २ देखि ८ डिग्रीसम्मको तापक्रममा छायाङ्कन गर्दा भएको दुःखलाई अहिले पर्दामा देखिने दृश्यले भुलाउने र सुन्दर नेपालको आभाष दिलाउने निर्देशक आचार्यले बताए ।

गायकको रुपमा परिचित रवि ओडले यसै फिल्ममार्फत अभिनेताको रुपमा आफूलाई प्रस्तुत गरेका छन् । गायक ओडले आफ्नो तयारी अनुसारनै अभिनयको सुरुआत गरेको बताए ।

उनले भने,‘आफ्ना गीतको श्रव्यदृश्यमा देखिदा केही आत्म विश्वास बढेको थियो । यसका निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयको बारेमा प्रशिक्षण लिएपछि अभिनेता बन्ने निर्णय लिएँ । मैले राम्रो काम गर्ने कोसिस गरेको छु ।’

फिल्ममा आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा सौरभ शर्माले पाश्र्वसङ्गीत सिर्जना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला, मोहन झिल्लुले छायाङ्कन गरेका छन् । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्