फिल्म । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ ले सुखद सुरुआत गरेको छ । त्रिकोणात्मक प्रेम र सगरमाथा आरोहणको कथामा आधारित फिल्मलाई हेर्न दर्शकको चाँप हलमा देखिएको छ । सार्वजनिक टिजर र ट्रेलरमा उच्चस्तरीय मेकिङ देखिएको फिल्मलाई हेर्न युवापुस्ता हममा भरिभराउ छन् । विहानदेखि नै दर्शकको अकुपेन्सी सुखद देखिएपछि निर्माण टिम प्रतिक्रिया लिन काठमाडौँ उपत्यकामा रहेका विभिन्न हलमा पुगेको छ ।
दर्शकको प्रतिक्रिया र भिडले अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ खुसी देखिएका छन् । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मले देशभर २ सय भन्दा बढी शो पाएको छ । सकारात्मक दर्शकीय प्रतिक्रिया प्राप्त भएपछि दिउँसोबाट व्यापारिक गति तीव्र भएको हो ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जेरी अन टप’ मा अनमोलसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारको अभिनय छ । सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी छन् । फिल्ममा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विश्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत तथा सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन छ ।










