युकेमा ‘हली’को प्रदर्शन अधिकार बिक्री

फिल्म । आगामी साउन २२ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को युके प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्ष र बेलायतस्थित वितरक सपन इन्टरटेनमेन्ट लिमिटेडबीच प्रदर्शन अधिकारसम्बन्धी सम्झौता भएपछि फिल्म युकेका लागि ‘सोल्ड आउट’ भएको हो।

निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० मा बेलायतको एल्डरशटस्थित प्रिन्सेस हलमा विशेष प्रदर्शन आयोजना गरिनेछ। उक्त शोको व्यवस्थापन तथा प्रदर्शनको जिम्मेवारी सपन इन्टरटेनमेन्ट लिमिटेडले लिएको छ। आयोजकका अनुसार शोका टिकट बिक्री सुरु भएसँगै दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ, जसले बेलायतमा नेपाली फिल्मप्रतिको आकर्षणलाई पुनः पुष्टि गरेको छ।

फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले ‘हली’को युके प्रदर्शन अधिकार आकर्षक रकममा बिक्री भएको जानकारी दिएका छन्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टोलीलाई थप उत्साहित बनाएको छ।

यता, नेपालमा प्रदर्शन हुन एक सातामात्र बाँकी रहँदा निर्माण टोलीले देशव्यापी प्रचारप्रसारलाई तीव्र बनाएको छ। केही दिनअघि झापा, मोरङ र सुनसरीलगायत पूर्वी जिल्लामा प्रचार अभियान सञ्चालन गरेको टोली हाल दाङ, नेपालगञ्ज र धनगढीलगायत पश्चिमका जिल्लामा पुगेको छ। ती स्थानमा अटो र ई–रिक्सामा फिल्मका पोस्टर टाँसेर प्रचारप्रसार गरिएको छ।

निर्देशक ओम प्रतीकको निर्देशनमा बनेको ‘हली’ मा नेपालमा अझै पनि विद्यमान छाउपडी प्रथाबाट उत्पन्न सामाजिक पीडाको कथा प्रस्तुत गरिएको छ। पोस्टर, टिजर र गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको निर्माण पक्षको दाबी छ। फिल्मले किसान वर्गको जीवन र सामाजिक यथार्थलाई समेत समेटेकाले यसको चर्चा बढेको बताइएको छ।

निर्देशक ओम प्रतीककै लेखन रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ। फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य समावेश गरिएको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा रहेको गीत पनि फिल्ममा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका छन्।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

कमेन्ट गर्नुहोस्