चर्चामा ‘मिरमिरे’ की बाल कलाकार शाइसा

फिल्म । आगामी माघ १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मिरमिरे’को सार्वजनिक ट्रेलरमा एक बाल कलाकारको अभिनयले दर्शकको ध्यान खिचेको छ । अभिनेता दयाहाङ राईसँग समानान्तर रूपमा देखिएकी ती बाल कलाकार दयाहाङकी छोरीको भूमिकामा प्रस्तुत भएकी छन् ।

दयाहाङकी छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन् शाइसा गौचन । फिल्ममा उनी आमाको अभाव महसुस गरिरहेकी छोरीको चरित्रमा देखिन्छिन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किँदै गरेकी छोरीको भावनात्मक कथालाई शाइसाले प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन् ।

ट्रेलरमा आमाको अभावमा देखिने शाइसाको अभिनयलाई दर्शकले मन पराइरहेका छन् । पोखराकी शाइसाका लागि ‘मिरमिरे’ डेब्यु फिल्म भने होइन । यसअघि उनले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’ फिल्ममा छोटो भूमिकामा अभिनय गरिसकेकी छन् ।

फिल्मका लेखक तथा निर्देशक यम शेर्पाका अनुसार शाइसाले यसअघि पनि दयाहाङसँग काम गरिसकेकाले ‘मिरमिरे’मा अभिनय गर्न सहज भएको हो । उनले भने, ‘यसअघिका फिल्ममा पनि शाइसाले दयाहाङ दाइसँग काम गरेकाले ‘मिरमिरे’मा काम गर्न सजिलो भयो । यदि पहिले नै घुलमिल नभएको भए सुरुमा काम गर्न अलि कठिन हुन सक्थ्यो ।’

निर्देशक शेर्पाले शाइसाको अभिनय दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । बच्चादेखि सबै उमेर समूहका दर्शकले उनको काम रुचाउने विश्वास उनले व्यक्त गरे । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेलले सम्हालेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

कमेन्ट गर्नुहोस्