फिल्म । निर्माता निर्देशक विदालाई लक्षित गर्दै फिल्म रिलिज गर्ने गरेका छन् । यस्तै गतिविधिले निरन्तरता पाउने भएको छ आउँदो वर्षको तीजमा पनि । आउँदो वर्षको तीजलाई लक्षित गर्दै तीन फिल्म घोषणा भईसकेका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘मन परेसी’ घोषणा भएसंगै त्यहिँ डेटमा फिल्म ‘के घर के डेरा’ घोषणा गरियो । अब , उक्त डेटमा फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि आउने भएको छ । विदाले फिल्मको कमाइमा फाइदा पुग्ने भएकोले तीजलाई लक्षित गर्दै तिन फिल्म घोषणा भएका हुन् ।
मन परेसी
गत श्रीपंचमीको अवसर पारेर राजधानी स्थित भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरिएको फिल्म छायांकनको तयारीमा छ । फिल्मको शुभ मुहुर्तमा आकाश श्रेष्ठ र पूजा शर्माले पुजा गरेका थिए । ‘रामकहानी’ बाट सुरु भएको पुजा र आकाशको सहकार्य , ‘पोइ पर्यो काले’ , ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ हुँदै ‘मन परेसी’ सम्म आइपुगेको हो । ‘जय शम्भु’ बाट निर्देशनमा डेब्यु गरेका निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ , लक्ष्मण श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन् । अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही/चक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह निर्मातामा रहेका छन् । फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् भने उनलाई संवादमा सन्जोग राणाले सघाएका छन् । हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने/रविन शाहको कोरियोग्राफी रहनेछ । अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा संगीत भर्ने जिम्मेवारी पाएका छन् । लभस्टोरी-एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो आइतबारबाट छायांकन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । मेडिया एण्ड मुभिज प्राली र जुना फिल्म्सको संयुक्त व्यानरमा निर्माण फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ ।
के घर के डेरा
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सोमबार घोषणा गरिएको फिल्म हो ‘के घर के डेरा’ । दयाहाङ राई र विपिन कार्कीको वरिपरि कथा घुम्ने फिल्मको कास्टिङ सार्वजनिक भए देखि नै चर्चामा थियो । आउँदो वर्षको तीजमा रिलिज घोषणा गरिएको फिल्ममा दया र विपिनसंगै फिल्ममा वर्षा राउत , आर्शिना भट्टराई , रविन्द्र झा , लुनिभा तुलाधर लगायतको अभिनय रहनेछ । सिङ्गे लामाको निर्माण रहने फिल्म ‘के घर के डेरा’ लाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् । फिल्मको स्क्रिप्टलाई सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा तयार पारेका हुन् ।
सम्हालिन्छ कहिले मन
सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ आउँदो वर्षको भाद्र ५ मा प्रदर्शन हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिल्म प्रदर्शनमा आउँन लागेको जानकारी आज अर्थात मंगलवार गराइएको हो । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा परि राना र अजित कुमार थापा सह-निर्मातामा छन् ।