फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् । सार्वजनिक टिजरमा नि:सन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको फिल्मको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
‘वीर विक्रम’मा पहिलो पटक एकसाथ काम गरेका दया र दीयाको जोडी यो यसबाट पुन: पर्दामा एकसाथ आउँदैछन् । टिजरमा उनीहरुको केमिस्ट्री गज्जबको देखिएको छ । यस्तै, सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङले बोलेको ‘ए हो र !’ भन्ने संवादले उनलाई राम्रैगरी नोटिस गराएको छ ।
आउँदो माघ २६ मा प्रदर्शन हुने फिल्ममा दया र दीया यस फिल्ममा श्रीमान र श्रीमतीको भूमिकामा छन् । फिल्मलाई अभिनेता माओत्से गुरुङले निर्देशन गरेका छन् । उनको यो डेब्यु निर्देशन हो ।
‘फिल्म पारिवारिक कथामै छ’, निर्देशक गुरुङ भन्छन् ‘यसमा उताउलो श्रीमान र दयालु श्रीमतीको कथा देखाएका छौं ।’ उनले फिल्मको नामलाई प्रस्ट्याउदै भने, ‘गुरुङ समुदायमा दयालु युवतीलाई दयारानी भनिन्छ ।’ गुरुङ भाषाको फिल्म निर्देशन गर्दै आएका कलाकार माओत्सेले यो फिल्मबाट मूलधारे फिल्ममा पाइला राख्न लागेका हुन् ।
सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् भने यसमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । साथै, यसमा निर्देशकद्वय रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।












