‘पुजार सार्कीले ठूलो क्रान्ति गरेको छ’ : नेत्री यमी

फिल्म । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि राम्रो काम फिल्ममा देखिएको बताएकी छिन् । बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर हलमा फिल्म हेरेपछि उनले आफूले समेत नेतालाई फिल्म हेर्न सिफारिस गर्ने प्रतिक्रिया दिएकी हुन् ।

‘महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ । त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ । अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन। परम्परागत राजनीतिक पार्टीले गरेको क्रान्ति भन्दा पनि फिल्ममार्फत गरिएको क्रान्ति ठूलो पाएँ’, नेत्री यमीले भनिन् ।

उनलाई धन्यवादसहित प्रतिक्रिया लिन निर्देशक दिनेश राउत, लेखक बिकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए । अभिनेता सिग्देलले फिल्ममा पुजारीको भूमिका निर्वाह गरेका छन् । अन्तरजातीय विवाह गरेर सार्की बन्ने जीवनलाई पर्दामा बाँचेका अभिनेता सिग्देलले नेत्री यमीसँग कुरा गर्दै भने,‘नीतिमा छुवाछूत गर्न नपाइने भएता पनि नियत खराब भएकाहरूको कारण यो समस्या यथावत् रहेको छ । यस कारण गैर दलितले नै छुवाछुत हुनु हुँदैन भनेर संदेश फिल्ममार्फत दिएका हौँ ।

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मका लेखक विकास सुवेदी र निर्माता सुवास भुसाल हुन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गरिरहेको छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्