डिसहोममा ‘कोपिला’

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वनै ठप्प झैँ छ । कोरोना भाइरसको महामारीलाई रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वका अधिकांस देश लकडाउनमा छन् । नेपालमा पनि गत चैत्र ११ गते देखि लकडाउन छ । मनोरंजन क्षेत्र त लकडाउनपछी पनि सामान्य अवस्थामा आउन समय लाग्ने देखिन्छ । तर , यस्तो स्थितिमा ओटिटी भने अगाडी आइरहेको छ ।

बलिउडका ठुला फिल्महरु पनि हल ढिलो खुल्ने भएपछी ओटिटीमै फिल्म प्रदर्शन गर्ने तयारीमा छन् । नेपालमा भने ओटिटी प्रदायक निकै कमछन् । जसले ठुला फिल्मलाई सिधै देखाउने सामर्थ्य राख्दैनन् । तर , यसको सम्भावना पनि विस्तारै सुरु भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको फिल्म ‘कोपिला’ हलमा नभई डिसहोममा प्रदर्शनमा आएको छ ।

डिसहोम च्यानल नम्बर १०८ मार्फत बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन भइरहेको छ । नेपाल पनि हल खुल्ने सम्भावना निकै पर रहेको हुँदा फिल्मलाई डिजिटल प्लेटफर्ममा ल्याइएको निर्देशक शिवम अधिकारीले बताए । यसका निर्माता मणिराज गौतमले यसै फिल्म मार्फत नेपालमा ओटिटीको सम्भावना पनि अनुमान हुने बताए । ‘हाम्रो लागि पनि ओटिटीको सम्भावना कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ’ मणिले भने ।

फिल्ममा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । निर्देशक अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्