राजेशसँग करिश्माको ‘म हुँ पानी’ सार्वजनिक (भिडिओ)

फिल्म । ‘पानको पात’ जस्ता कालजयी लोकगीतका सर्जक तथा वरिष्ठ लोकगायक बम बहादुर कार्की को नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी, सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमाल ले गीतको भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, गायक बम बहादुर कार्की, निर्देशक देवेन्द्र पाण्डे, गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिति थियो ।

प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको गीतले समाजमा गहन सन्देश प्रवाह गरेको छ । म्युजिक भिडियोमा नेपाली फिल्म क्षेत्रका सदाबहार जोडी राजेश हमाल र करिश्मा मानन्धरको अभिनय रहेको छ । केही समयपछि एउटै भिडियोमा देखिएको यस जोडीमध्ये हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई प्रस्तुत गरेकी छन् । भिडियोमा उनीहरूसँगै सगुन कार्की को पनि अभिनय देख्न सकिन्छ ।

गीतमा बम बहादुर कार्की स्वयंको शब्द तथा सङ्गीत रहेको छ । स्वरमा उनलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनम ले साथ दिएका छन् । सङ्गीत संयोजन बी.बी. अनुरागी ले गरेका हुन् ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा हरि हुमागाईँ को छायाङ्कन रहेको छ । भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी तथा प्राकृतिक दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विकास दाहाल ले सम्पादन गरेको भिडियोमा पानीका विभिन्न रूपलाई समेत समेटिएको छ । गीतको मूल भाव ‘पानी नै जीवन हो’ भन्ने रहेको छ । गीतमार्फत पानीको संरक्षण गर्न तथा प्रदूषणबाट जोगाउन आग्रह गरिएको छ । गीत गोरखा म्युजिक मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राजेश हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । उनले पानीको मूल्य र मानवीय अस्तित्वसँगको सम्बन्धबारे पनि चर्चा गरेका थिए ।

हमालले गायक बम बहादुर कार्कीको योगदानको प्रशंसा गर्दै उनको चर्चित गीत ‘पानको पात’ नेपाल मात्र नभई विश्वभर चर्चित भएको स्मरण गरे । आफू फिल्म क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतमा नाच्ने गरेको उल्लेख गर्दै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी लागेको बताए ।

अभिनेत्री करिश्मा मानन्धरले गीत र भिडियो उत्कृष्ट बनेको भन्दै प्रशंसा गरिन् । गायक बम बहादुर कार्कीले मानव जीवनमा पानीको महत्व बुझाउन तथा संरक्षणको सन्देश दिन गीत निर्माण गरिएको बताए ।

कमेन्ट गर्नुहोस्