सङ्गीत । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अवुधावीले ‘इनास म्यूजिकल धमाका सिजन-२’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि अवुधाबी दुवईका लागि नेपाली राजदुत तेजबहादुर बिष्टले नेपाली कला र संस्कृतिको प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमको प्रशंसा व्यक्त गरे । उनले भने,‘यस प्रकारका कार्यक्रमले हामी जुन ठाउँमा बसेपनि आफ्नोपनको आभास दिन्छ र आउने पुस्ताले पनि हाम्रो पहिचान बिर्सिदैन ।’
कार्यक्रमका विशिष्ट अतिथि इनास नेपालका अध्यक्ष एवम् ग्लोबका मिडिया प्रमुख दयाराम पाण्डेयले इनास युएईको टिमको एकता र काम प्रतिको लगावको मुक्त कण्ठले सर्हाना गर्दै अन्य मुलुकमा रहेका इनासका च्याप्टरले पनि यसबाट धेरै कुरा सिक्नुपर्ने बताए ।
त्यस्तै विशेष अतिथि युएई नागरिक डा. अब्दुल्लाहले कार्यक्रमको सफलताको कामना गरे । कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै इनास अवुधावीका अध्यक्ष अस्मत घिमिरेले आफूहरुले नेपाली पहिचान जोगाउन यो कार्यक्रम गरेको बताए । कार्यक्रम स्थानीय फोकलर थियटरमा आयोजना गरिएको थियो । सो कार्यक्रम हेर्न सारजहाँ, दुबई र करीब ५ घण्टा बसको यात्रा गर्दै साउदीको सिमानाबाट समेत नेपालीहरु आएका थिए ।
गायक प्रमोद खरेल, गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले कार्यक्रममा प्रस्तुतिमा पनि दर्शकहरू निकै रमाएका थिए । गायक विश्व दोङ तामाङ् र स्थानीय गायिका कविताले पनि दर्शक नचाउन सफल भए । गायिका सुनिता कार्कीले पनि ३ गीत प्रस्तुत गरेको कार्यक्रममा त्यहीँ बस्ने नेपाली समुहका कलाकार रोनी लगायतले नृत्यमार्फत दर्शकलाई राम्रैसंग नचाएका थिए ।
कार्यक्रममा राजदुत क्षेत्री, इनास नेपाल अध्यक्ष पाण्डेय र युएई नागरिकलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । उमाकान्त पाण्डेय र रुपेश अधिकारीले सञ्चालन गरेको सो कार्यक्रमलाई सफल पार्न इनास युएई अध्यक्ष एम.डी. बोहोरा, महासचिव हरि मोक्तान, सल्लाहकार केशव शर्मा नेपाल, रामप्रसाद, प्रविन निरौला, प्रकाश पौडेलको साथमा उपाध्यक्ष गङ्गा खड्का, रन्जीत रिजाल संगै रश्मी रिजाल, कविता आरबिएम र विना मानन्धर कार्यक्रम सफल पार्न अहोरात्र खटेका थिए। इनास अवुधावीले गत वर्ष इनास धमाका -१ र २ भव्य सफल भएपछि अर्को वर्ष इनास धमाका-३ को आयोजना गर्ने घोषणा गरेको छ।










