अष्ट्रेलिया र न्यूजिल्याण्डमा ‘फर्की फर्की’को नयाँ रेकर्ड

फिल्म । नेपाली फिल्मको ठूलो बजार मानिने अष्ट्रेलियासँगै न्युजिल्यान्डमा नेपाली फिल्म ‘फर्की फर्की’ ले तीन दिनमा एक करोड रुपैया बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएका छन् । विदेशी फिल्म झैँ बक्सअफिसमा प्रदर्शन गरिएको अनमोल केसी स्टारर फेन्टासी -ड्रामा ‘फर्की फर्की’ले उक्त पहिलो सप्ताहन्त (तीन दिनमा) गरेको हो ।

अष्ट्रेलियाका ८ र न्यूजिल्यान्डका ६ वटा राज्यमा रिलिज भएको यो फिल्म हेर्न युवापुस्ता हलसम्म पुगेका छन् । स्थानीय वितरकका अनुसार पहिलो तीन दिनको कमाईमा यसअगाडि प्रदर्शन भएका सम्पूर्ण फिल्मको रेकर्ड तोडेको छ । स्थानीय वितरकको अनुसार दुई मुलुकका ४५ हलका ५०० पर्दाबाट फिल्म रिलिज भएको हो ।

निर्माता रोहित अधिकारीले नेपाल झैँ विदेशमा समेत दर्शकको मन जित्न सफल भएको बताए । उनले विश्वभर फिल्म हेरिरहेका दर्शकलाई धन्यवाद दिए । अभिनेता अनमोल केसी, अभिनेत्री जसिता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकारमा फिल्म केन्द्रीत छ । यसमा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली फिल्ममा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यस अगाडि यस्ता प्रयोग गरिएको छैन ।

वर्ल्ड फिल्ममा ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए । ‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ ।

रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

कमेन्ट गर्नुहोस्