फिल्म । ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि सुरु भएको छ । रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णालीमा चल्ने छ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। उनले फिल्ममार्फत कर्णालीको चित्र विश्वभर पुगेको भन्दै फिल्मकर्मीको प्रसंसा गरेका छन् ।
पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा लेखक विकास सुवेदी लगायत उद्घाटन समारोहमा सहभागी थिए । महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीलाई फिल्म पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
त्यस्तै, उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रधुम्न पोखरेल, कलाकार, फिल्मकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई नेपाली फिल्ममा समेट्न विशेष पहल गरिने आयोजकको दाबी छ ।










