फिल्म । केहि समय यता फिल्म ‘प्रकाश’ चर्चामा छ । अभिनेता प्रदीप खड्का फरक रुपमा प्रस्तुत भएको फिल्मको रुपमा चर्चामा आएको फिल्म पछिल्लो समय भने हलले शोमै हेला गरेको भन्दै चर्चामा आएको छ । प्रदर्शनको समयमा नेपाली शो भन्दा हिन्दी फिल्मलाई शो बढी दिएको भन्दै प्रदीपले पत्रकार सम्मेलन समेत गरेका थिए । हिन्दी फिल्ममा दर्शक कम हुँदै गएपछि ‘प्रकाश’ को शो बढिरहेका छन् । यद्दपि प्रदर्शनमा विभेद गरिएको भन्दै स्थानीय जुम्लीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासनमार्फत सञ्चार मन्त्रालय तथा चलचित्र विकास बोर्डमा ज्ञापन पत्र पठाएका छन् ।
जुम्ली परिवेश, रहनसहन, भाषा, संस्कृतिमा आधारित फिल्मलाई हलको शोमा विभेद गरिएको यसबारे पत्रमार्फत ध्यानाकर्षण गराइएको पत्रमा उल्लेख छ । फिल्मलाई आम नेपालीमाझ पुग्नबाट रोक्न प्रयास गरिएको आरोप समेत लगाइएको उक्त ज्ञापन पत्रमा लगाइएको छ ।ज्ञापन पत्र चलचित्र संघलाई पनि बोधार्थ पठाइएको छ । ‘कर्णालीमाथिको विभेद अन्त्य गर’, ‘प्रकाश प्रदर्शनका लागि पर्याप्त शोहरु देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित भएका जुम्लाबासीले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।
दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ ।
समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।










