‘म मदनकृष्ण’मा हरिवंशको भूमिका गर्दै अरुण

फिल्म । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्री अनुबन्धित भएका छन्। निर्माण टिमले मंगलबार उनको चरित्र सार्वजनिक गर्दै फिल्मको कलाकार टोलीलाई थप पूर्णता दिएको हो ।

वास्तविक जीवनमा मदनकृष्ण श्रेष्ठका लामो समयदेखिका सहयात्री हरिवंश आचार्यको भूमिकामा अब पर्दामा अरुण क्षेत्री देखिनेछन् । हाल बक्स अफिसमा सफल प्रदर्शनरत फिल्म ‘गौँथली’ का मुख्य कलाकारसमेत रहेका अरुणले ‘म मदनकृष्ण’सँगै निर्माण टिमले श्रृंखलाबद्ध रूपमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिक फिल्ममा पनि मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।

निर्देशक मिलन चाम्सका अनुसार सशक्त अभिनय क्षमता भएका कलाकारको खोजीका क्रममा अरुण क्षेत्रीलाई छनोट गरिएको हो । उनले हरिवंश आचार्यको भूमिका प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास निर्माण टिमले लिएको जनाएको छ ।

मदनकृष्ण श्रेष्ठको जीवनका सुख–दुःख, संघर्ष, सफलता र आरोहअवरोहलाई समेटेर निर्माण हुन लागेको बायोपिक फिल्म ‘म मदनकृष्ण’ को निर्देशन मिलन चाम्सले गर्नेछन् । उनले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ निर्देशन गरेका थिए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने अभिनेत्री केकी अधिकारीले उनकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नेछिन्। फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायतका जीवनका महत्त्वपूर्ण अध्याय समेटिने निर्माण पक्षले जनाएको छ। फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्। निर्माण पक्षका अनुसार फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले कीर्तिमानी मूल्यमा खरिद गरिसकेको छ। फिल्मको छायांकन भदौको दोस्रो सातादेखि सुरु हुने तयारी छ भने वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।

कमेन्ट गर्नुहोस्