‘कबड्डी प्रति विश्वास बढेको छ’ दयाहाङ

49 Shares
तस्वीर निरज पन्थी

फिल्म । आउँदो भाद्र १३ गते रिलिज हुने चर्चा रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को छायाँकन सकिएको छ । एक गीत बाँकी राख्दै हिमाली भेगबाट टोलि काठमाण्डू फर्किसकेको छ । हिमाली भेगको कथा बोल्ने फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज हो । यसपटक फिल्ममा नयाँ सदस्यको रुपमा कर्मा र विल्सन बिक्रम राई भित्रिएका छन् भने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । यो फिल्मको अघिल्ला दुई सिरिज पनि उनैले निर्देशन गरेका थिए । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बनेको छ ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको ‘कबड्डी’ को तेस्रो सिरिज स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित रहने बताइएको छ । फिल्मको छायाँकन सकिएपछि दया दर्शकको माया पाउनेमा विश्वस्त छन् । ‘शुटिङ अगाडी केहि डर थियो तर अहिले विश्वास बढेको छ’ उनले भने । उनले व्यावसायिक आँकडासंगै दर्शकको विश्वास पनि महत्वपूर्ण भएकोमा जोड दिए ।

फिल्ममा नायिकाको रुपमा नयाँ अनुहार उपासना सिंह ठकुरी भित्रिएकी छिन् । फिल्ममा नयाँ अनुहार कर्मा , विल्सन र उपासनासँगै दयाहाङ राई , रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहनेछ । यस फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार छन् भने, रुदेना साडा लेप्चा सह-निर्माताको रुपमा छन् । यसमा रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । फिल्ममा सुलभ पहारी, याम भण्डारी, किरण लिम्बु सहायक निर्देशक र सिजन दाहाल, क्रिस लामा मुख्य सहायक निर्देशकको रुपमा छन् ।

Facebook Comments