फिल्म । जुम्लाको पूर्वमा पर्ने पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा पर्ने ऋण मोक्ष माविको प्रांगणमा फिल्म ‘प्रकाश’ को वर्ल्ड प्रिमियर गरिएको छ । जिल्लामै हल नहुँदा प्रोजेक्टरको व्यवस्था गर्दै फिल्म स्थानीयलाई देखाइएको थियो । छायांकन भएकै गाउँका वासिन्दालाई फिल्मले पहिलो दर्शक बनाएको हो । भदौ १० गते देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको ‘प्रकाश’ले छायांकन थलोमै गरेको प्रिमियरको सर्वत्र तारिफ भइरहेको छ ।
निर्माता महेन्द्र अधिकारीका अनुसार ६ सय बढी गाउँलेले फिल्मको मजा लिए ।प्रिमियरमा पुगेका अभिनेता प्रदीप खड्का र पटकथा लेखक विकास सुवेदीलाई गाउँलेले भव्य स्वागत पनि गरे । कलाकारको स्वागतमा गाउँले झाँकी समेत निकालेका थिए । जुम्लेली दर्शकले मन पराएपछि सहरका दर्शकले पनि फिल्म रुचाउने निर्माता अधिकारी आशा लिए । दिनेश राउतको निर्देशनमा तयार फिल्ममा दिया मास्के , रेणु योगी , प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मले सामाजिक र आर्थिक विपन्नता रहेको एक परिवारको आत्मसम्मानको कथा भन्छ । फिल्ममा आत्मसम्मानका निमित शिक्षक बन्न संघर्ष गर्ने युवा , विभिन्न समयमा परिवर्तनका आन्दोलनले राज्यव्यवस्थामा ल्याउन नसकेको परिवर्तनलाई नजिकबाट चिनाउछ ।










