फिल्म । हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरमा समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरिएको छ ।
निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न फिल्म निर्देशन गरेको बताए । कोरोना अगाडीबाट नै सुरु गरिएको फिल्म निर्माणका क्रममा आफुले विभिन्न उतारचढाव फेस गर्दै यो अवस्थामा आइपुगेको बताए ।
निर्देशक राईलाई यो फिल्म निर्माणमा मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छिन् । उनी यसमा सह-निर्माताको रुपमा छिन् । यसको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने फिल्मको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । यसको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा तयार भएको हो ।
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।










