फिल्म । निर्देशक मिलन चाम्सको आगामी फिल्म ‘सुम्निमा’ को लागि मुख्य अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । यो प्रेम कथामा आधारित फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण हुने भएको छ । यसअगाडि केही प्रोजेक्टमा मिलन र उपासनाको सहकार्यको चर्चा चलेता पनि अन्ततः ‘सुम्निमा’ मा सहकार्य जुरेको छ ।
उपासना अनुबन्धित भएसँगै निर्माण टिमले उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागि अडिसन आव्हान गरेको छ । निर्माण पक्षले जनाए अनुसार २० देखि २६ वर्ष उमेर समूहका बेलायतमा रहेका इच्छुक व्यक्तिहरुले अडिसनमा भाग लिन सक्नेछन् ।
निर्देशक चाम्सले यो फिल्मलाई विश्वव्यापी कथावस्तुमा आधारित बनाइने र यसले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्ने बताएका छन् । उनले भने, ‘कथावस्तु युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ ।’
‘सुम्निमा’ को छायांकन नेपाल र बेलायतमा आगामी जुलाई महिनादेखि सुरु हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हो । फिल्मको कथा र पटकथा राजीव थापाले लेखेका छन् ।
हालै निर्देशक चाम्सको बायोपिक सिनेमा ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औं दिन सफलतापूर्वक पार गरिसकेको छ । ‘अञ्जिला’ ले पाएको सफलतासँगै चाम्सलाई आफ्नो आगामी प्रोजेक्ट ‘सुम्निमा’ लाई उत्कृष्ट बनाउनुपर्ने चुनौती थपिएको छ । यद्यपि, कथा राम्रो भएको र टिम पनि बलियो हुने भएकाले ‘सुम्निमा’ एक उत्कृष्ट फिल्म बन्नेमा चाम्स विश्वस्त देखिएका छन् ।










