फिल्म । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ सबै दर्शकका लागि भएको अभिनेत्री जसिता गुरुङले बताएकी छिन् । उनले फिल्मको विषय युवापुस्ता र उनीहरुको प्रेममा केन्द्रीत भएता पनि यो कथाले सबैलाई आकर्षित गर्ने बताइन ।
‘यो हाम्रो पुस्ताको कथा हो । यद्यपि हाम्रो पुस्ताको प्रेम, त्यसमा आउने समस्यालाई अभिभावकलाई बुझ्न पनि यसले मदत गर्छ । यो परिवारले हेर्न मिल्ने रमकम बनेको छ’, अभिनेत्री गुरुङले भनिन् ।
फिल्ममा उनले ‘मिक्सोलोजिस्ट’ को भूमिका निर्वाह गरेकी छिन् । उनि लन्डनबाट नेपाल फर्किएर आफ्नै काम रमाईरहेकी हुन्छिन् । त्यहि क्रममा म्याडीको भूमिकामा रहेका अनमोल केसीसँग भेट भएपछि बस्ने प्रेम र त्यसमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
‘अहिलेको युवाको प्रेम र त्यसमा जोडिने भावनात्मक सम्बन्धलाई देखाउने कोसिस छ । पर्दा भित्रको कथाले पर्दा बाहिरका दर्शकलाई छुन्छ जस्तो लाग्छ’, उनले भनिन् ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । सार्वजनिक ट्रेलर र गीतसङ्गीतको लोकप्रियतालाई मापन गर्दा जेठको १० गते बक्स अफिसमा यो फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।