‘जार’ पढेदेखि नै काम गर्ने इच्छा थियो : सौगात

फिल्म । साहित्यकार इन्द्रबहादुर राईको चर्चित कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ यही वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फुर्वा छिरिङ लामाद्वारा निर्देशित यस फिल्ममा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको प्रमुख भूमिका रहेको छ ।अभिनेता मल्लले ‘जार’ को कथा पढेदेखि नै यसमा काम गर्ने तीव्र इच्छा राखेका थिए । दुई दशकअघि साहित्यकार राईको यो कृति पढ्दा जुन प्रभाव उनमा परेको थियो, त्यहीले गर्दा उनी यो फिल्ममा जोडिन आतुर थिए । अन्ततः दुई दशकपछि उनको यो सपना साकार भएको छ ।

सौगातले २७ वर्षअघि गुरुकुलमा ‘जार’ नाटक हेरेको र त्यसमा अभिनय गर्ने अवसर नपाए पनि नाटक पढेको स्मरण गरे । उनले भने,‘त्यो समयमा म एउटा फिल्ममा अनुबन्धित भइसकेको थिएँ, जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ । तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चार दिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई पनि त्यस्तै भयो।’

उनले थप भने,‘जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो। त्यसबेला फिल्म बारे त सोच्ने भइसकेको थिइनँ । त्यही फिल्मका लागि दुई दशकपछि प्रस्ताव आउँदा म आश्चर्यचकित भएँ।’

मुख्य भूमिका मात्र नभई जुनसुकै भूमिकाका लागि पनि ‘जार’ मा काम गर्न तयार रहेको उनले बताए । तर मुख्य भूमिकाको प्रस्ताव आउँदा उनी झनै खुसी भएका थिए।

अभिनेता मल्लका अनुसार उनले निर्वाह गरेको चरित्र यति गहिरो छ कि पुस्तकमा पढ्दा उनको शरीरमा काँडा उम्रिएको थियो । उनले भने,‘मैले कागबेनीको चरित्रपछि जारलाई संगालेर राखेको थिएँ । गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो । त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो । तर मैले अरु फिल्म साइन गरिसकेको थिएँ । तर कुनै दिन जारकै कथामा फिल्म बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ।’ कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा आफू हराएको अनुभव उनले सुनाए ।

कालान्तरमा त्यही कथामा आधारित फिल्ममा काम गर्ने अवसर पाउनुलाई सौगातले सुखद संयोग र आफ्नो भाग्य मानेका छन् । ‘जार’ २२५ वर्ष अगाडिको समाजको कथामा आधारित छ। यसमा सौगातले अनुपविक्रम शाहीकी पत्नी गीताञ्जलीलाई भगाउने चुनौतीपूर्ण भूमिका निभाएका छन् ।

फेरि टेल पिक्चर्सको प्रस्तुति रहेको ‘जार’ सामाजिक विषयमा आधारित भए पनि एक उत्कृष्ट प्याकेज भएको निर्देशक फुर्वा छिरिङ लामाको दाबी छ । उनी ‘जार’ ले दर्शकको मन जित्नेमा पूर्ण विश्वस्त छन् । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको छायांकन रमणीय सिक्किममा गरिएको हो ।

‘जार’ को कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् । सरवानन इलावार्सुले छायांकन गरेको यसको सम्पादन अखिलेश राईले गरेका छन् भने झुमा लिम्बू र गंगा थापाको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्