विजय र वर्षाको ‘मालती मंगले’ शुभारम्भ

फिल्म । गायक रामकृष्ण ढकालको निर्माणमा बन्न लागेको नेपाली फिल्म ‘मालती मंगले’ को शुभ मुहूर्त समारोह बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा सम्पन्न भएको छ । स्क्रिप्ट र क्यामेरा पूजासहित आयोजित समारोहमा निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले पहिलो क्ल्याप दिए । अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै फिल्मको छायांकन शुभारम्भ गरे ।

निर्माता ढकालले कार्यक्रममा गुणस्तरीय र भावनात्मक कथामा आधारित फिल्म निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत र मेक्सम गौडेलले ‘मालती मंगले’ आफ्नो अभिनय यात्राको विशेष फिल्म बन्ने विश्वास व्यक्त गरे।फिल्ममा विजय, वर्षा र मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहनेछ ।

निर्देशक प्रकु पाण्डेयले कथा लेखेका छन् भने पटकथा र संवाद गुरागाईँले तयार गरेका छन् । पारिवारिक प्रेमकथामा आधारित यो फिल्मको मुख्य छायांकन तनहुँ र स्याङ्जामा शनिबारदेखि सुरु हुनेछ । रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको फिल्मका सह–निर्माता रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ छन् ।

छायांकन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, गीतकार राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउद छन् । सङ्गीत हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले दिनेछन् । कस्ट्युम डिजाइनर रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परियार र प्रमुख सहायक निर्देशक शिशिर पोखरेल छन् ।

कमेन्ट गर्नुहोस्