फिल्म । ‘गोर्खा वारियर २’ निर्माण हुने भएको छ । निर्मातासँगै निर्देशक समेत रहेका मिलन चाम्सले उपत्यकामा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण बारे औपचारिक रुपमा जानकारी गराए । गत मंगलवार राजधानीको होटल र्याडिसनमा एक कार्यक्रमका बीच ‘गोर्खा वारियर २’ बन्ने घोषणासँगै फागुन २७ गतेबाट छायांकनमा जाने जानकारी समेत गराइयो । फिल्मको मलेशिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन हुनेछ । फिल्मले वीर गोर्खालीहरुको कथा वाचन गर्नेछ ।
रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहने फिल्मको कथा निर्देशक चाम्सले नै तयार पारेका हुन् । साथै , यसको पटकथा तथा संवाद लेखनमा उनलाई गिरीराज घिमिरेले साथ दिएका छन् । सुदिप बरालले खिच्ने फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।
हिमाल केसीको द्वन्द्व, एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहने फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । यो फिल्मबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । ‘गोर्खा वारियर’ को चार सिरिज बन्ने र पहिलो पार्टको छायांकन अर्को वर्षबाट सुरु हुने निर्देशक चाम्सले बताए ।
‘गोर्खा वारियर २’ गोर्खाली सेनाको वीरता र योगदानमा आधारित हुने उनले बताए । लन्डन सिनेआइ प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको सह-निर्मातामा सुरेश राई र पूर्ण लिम्बु छन् ।