दर्शकसँगै राजनीतिज्ञको रोजाईमा ‘महाजात्रा’

फिल्म । गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । नेपाल मात्र नभई विदेशमा समेत हाउसफुल भइरहेको फिल्मलाई राजनीतिज्ञसँगै विशिष्ट व्यक्तिले समेत हेरिरहेका छन् । फिल्म दोस्रो सातामा प्रवेश गर्दै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहले हेरिसेका छन् ।

अध्यक्ष ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बर मा ९.५ नम्बर दिएका थिए । ‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाए । फिल्म राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

अध्यक्ष ओली झैँ पूर्वप्रधानमन्त्री डा भट्टराईले फिल्म हेरेर नेताले आत्मालोचना गर्न सक्नु पर्ने विचार राखे । ‘यो फिल्म मनोरञ्जकसँगै संदेशमूलक बनेको छ । देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ’, पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने,‘राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’

पूर्वरानी शाहले फिल्म हेरेपछि ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्‍यो । हामी सबैले रमाइलो गर्‍यौ’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएकी थिइन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित ‘महाजात्रा’ हेरेका थिए । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृंखलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताएका थिए ।

‘मलाई यो शृंखलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने ।

साथै अन्य विशिष्ट व्यक्तिहरूले पनि फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । फिल्म हेर्न विभिन्न आमा समूह, गाउँटोलमा बनेका समिति र परिवार नै हलसम्म आइरहेका छन् । प्रदर्शनको तेह्रौ दिनमा पनि मल्टिप्लेक्सका अधिकाँस शो हाउसफुल छन् । विदेशमा मध्यपूर्व अन्तर्गतका देशहरू कतार, बहराइन,युनाइटेड अरब इमिरेट्स, संयुक्तराज्य अमेरिका, बेलायत, मलेसियामा विदेशी झैँ नियमति बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

अष्ट्रेलिया, युरोप अन्तर्गतका देशहरू, न्युजिल्यान्ड, दक्षिण कोरियामा आयोजित शोहरू ‘सोल्ड आउट’ भइरहेका छन् । निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममा मनोरन्जनसँगै दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले ग्रहण गरेको बताए ।

‘राजनीतिज्ञले दिएको प्रतिक्रिया मिडियामै छ । दर्शकले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिईरहनु भएको छ । हामीले हलमा गएर साक्षात्कार गरिरहेका छौँ । फिल्म हेर्न जाँदाको उत्साह र निस्किदै गर्दाको हाँसोले हामीलाई सफल बनाएको छ । फिल्म हेर्न आउनुभएकालाई समय र पैसाको सदुपयोग भएको लागेको छ । यसले हामीलाई सफलता दिलाएको हो’, निर्देशक भट्टराईले भने ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् भने यसमा अभिनेता रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता छन् ।

कमेन्ट गर्नुहोस्